अष्ट्रेलियामा पक्राउ पर्ने डरले प्रचण्डको भ्रमण रद्द ।
Dainik Suchana
12:16 AM
0
असार १०, २०७३, पोखरा ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध अस्ट्रेलियामा उजुरी परेका कारण अन्तिम समयमा भ्रमण रद्द गरेको अनुमान यहाँका नेपालीले गरेका छन् ।
दाहालविरुद्ध विगतमा भएको युद्धकालीन अवस्थाका पीडितले अस्ट्रेलियाका मुख्य राजनीतिक दलका प्रतिनिधिहरू, मानव अधिकारवादी संघसंस्था, एम्नेस्टी इन्टरनेसनल, मानव अधिकारसम्बन्धी वकालत गर्ने वकिलहरू र ठूला सञ्चार संस्थाहरूमा उजुरी गरेका छन् । कान्तिपुरलाई प्राप्त इमेलहरूमा दाहाललाई अन्तर्राष्ट्रिय कानुनी दायरामा ल्याउनुपर्ने वा तत्काल फिर्ता पठाउनुपर्ने माग गरिएको छ ।
दाहालले अस्ट्रेलिया उड्नु केही घण्टाअघि मात्र भ्रमण रद्द गरेका थिए । पार्टीगत कामका कारण भ्रमण रद्द गरेको बताइए पनि उनीविरुद्ध यहाँ सबैतिर उजुरी गरिएपछि विभिन्न आशंकाले भ्रमण रद्द गरेको हुन सक्ने अनुमान उनी सम्बद्ध व्यक्तिहरूले नै गरेका छन् । बिहीबार बिहान अस्ट्रेलियाको मेलबर्नमा अवतरण गर्ने भनिएका दाहालविरुद्ध तत्कालीन समयमा पीडित एक महिलाले उजुरी दिएकी थिइन् । उनको उजुरीमा दाहालले नेतृत्व गरेको माओवादी युद्धका कारण १६ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएको र बलात्कार, अपहरण, यातनालगायत अपराध भएको उल्लेख गरिएको छ । उजुरीमा राष्ट्रसंघद्वारा जारी नेपाल सम्बन्धी रिपोर्टसमेत समावेश गरिएको छ । उजुरीमा ३२ जना अन्य नेपालीले सहमति जनाएका छन् ।
यता अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको प्रिमियरलाई एक व्यक्तिले इमेल लेखेर दाहालका विरुद्ध उजुरी दिएको सार्वजनिक भएको छ । उक्त उजुरीको जवाफ फर्काउँदै प्रिमियर माइक बेयर्डका एक कर्मचारी गायल मिचेलले यो विषय न्यु साउथ वेल्स प्रहरीलाई ध्यानाकर्षण हुनुपर्ने उल्लेख गर्दै सहायक प्रिमियर तथा न्याय तथा प्रहरी मन्त्री ट्रोय ग्रान्टलाई उक्त इमेल पठाइसकिएको लेखेकी छन् । स्थानीय एमएनटीभीले सार्वजनिक गरेको उक्त पत्रमा भिसा दिने निर्णय केन्द्र सरकारको भएकाले जानकारी गराइसकिएको छ । उक्त इमेल कसले लेखेको भन्ने बारेमा नखुलेको भए पनि दाहाल भ्रमणको ३ दिनअघि आदानप्रदान भएको हो ।
दाहालको भ्रमणको प्रबन्ध मिलाउन ४ दिनअघि अस्ट्रेलिया आएका माओवादीका अन्तर्राष्ट्रिय विभाग सचिव युवराज चौलागाईंले आफूले यी कुरा केही मात्रामा सुने पनि यसमा सत्यता नभएको जिकिर गरे । दाहाल नेपालको प्रधानमन्त्री भइसकेको र द्वन्द्वकालीन समयमा भएका घटनालाई सुल्झाउन कानुन बनिसकेको अवस्थामा यी कुराले खासै प्रभाव नपार्ने उनको दाबी छ । अन्तिम समयमा आएर पार्टी र सदनको कार्यव्यस्तताले भ्रमण रद्द भएको तर्क उनले गरे ।
श्रोत: कान्तिपुर, राष्ट्रिय दैनिक ।


No comments