नेपालीलाई निशाना बनाएको कारण पत्ता लगाउने गृह मन्त्रालयको प्रयास
Dainik Suchana
4:32 AM
0
असार ६, २०७३-
अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा १४ जना नेपालीहरूको ज्यान गएपछि त्यस बारे बुझ्न परराष्ट्र मन्त्रालयले सबै संयन्त्र प्रयोग गर्ने भएको छ ।
काबुलमा भएको बम आक्रमणमा निजी नेपाली सुरक्षाकर्मीहरूको ज्यान गए लगतै सोमबार बिहान मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो । मृतकको शव जतिसक्दो छिटो ल्याउने र घाइते भएका ५ नेपालीको उपचारमा तिव्रता दिने कार्य भइरहको मन्त्रालयले जनाएको छ ।
उक्त बैठकले घटनाको विस्तृत विवरणसहित नेपालीलाई लक्षित गरी गरिएको आक्रमणको कारण समेत खोजी गर्ने निर्णय गरेको छ । नेपालको अफगानिस्तानमा दूतावास नभएको र त्यहाँ जाने नेपालीको आधिकारिक रेकर्ड समेत नरहेकोले थप समस्या भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् ।
‘घटना हेर्दा नेपाली सुरक्षाकर्मी माथि नै निसाना बनाएर गरिएको जस्तो देखिएको छ,’ एक अधिकारीले भने । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले उक्त घटनालाई दु:खद भन्दै निर्दोष नेपाली माथि भएको आक्रमणको निन्दा गरेका छन् । उनले ट्विट गर्दै दु:ख व्यक्त गरेका हुन् ।
‘काबुलको घटनाबारे बुझ्ने काम भइरहेको छ । १४ नेपालीको मृत्यु भएको र ५ नेपाली घाइते भएको आधिकारीक पुष्टि भएको छ । यो बर्बर र दु:खद घटना हो,’ अफागनिस्तानका लागि गैरआावसिय नेपाली राजदूत समेत रहेर मन्त्रालय फिर्दै प्रवक्ताको जिम्मेवारी सम्हालेका भरतराज पौड्यालले कान्तिपुरसँग भने, ‘घटनामा परेका व्यक्तिको नाम र काम गर्ने कम्पनी सबै बुझ्न लागि परेका छौं । विभिन्न खालको जानकारी आइरहेको छ । तर नेपालीहरुको सबै परिचय खुल्न सकेको छैन् ।’
नेपालीलाई निशाना बनाएको जस्तो देखिए पनि त्यहाँ विदेशी माथि आक्रमण भइरहने हुनाले नेपालीलाई नै निशाना बनाएको हो भन्न नमिले पनि घटना गम्भिर भएको उनले बताए । पौडेल पाकिस्तानमा राजदूत हुँदा नै त्यहाँको अवस्था र नेपालीबारे बुझ्न काम गर्ने स्थानहरुमा नै पुगेका थिए ।
‘मृतकको पूर्ण विवरण र घाइतेको अवस्था लगायत बुझ्ने र खोज्ने काम भइरहेको छ,’ प्रवक्ता पौड्यालले भने ।
अफगानिस्तानको गृहमन्त्रालयले नै प्रेस विज्ञप्ती जारी गर्दै १४ नेपालीको निधन भएको जनाइसकेकोले मृतकको संख्या पुष्टि भए पनि विवरणमा समस्या भएकोले मन्त्रालयले खोजी गरिरहेको उनले बताए । अफागानिस्तानले पाँच नेपाली र चार अफगानी घाइते भएको जनाएको छ ।
नेपालीहरु बेलायती निजी सुरक्षाकर्मी कम्पनी साब्रे अन्तरगत रहेर त्यहाँ काम गर्दै आएका थिए । मृतकसहित १ सय ४७ जना भूतपूर्व सैनिकहरु नै त्यहाँ कार्यरत थिए । आक्रमणमा परेको टोली त्यहाँको क्यानडियन दूतावासमा सुरक्षा दिने गार्डहरुको हो । दुईवटा गाडीसँगै निस्किएकाेमा पहिलाे गाडी छाेडेर दाेस्राे गाडीमा अाक्रमण भएकाे हाे ।
स्थानिय समय अनुसार बिहान ५ बजेर ४० मिनेट जाँदा घात लगाएर बसेका तालिबानी आत्मघातीले उनीहरु सवार बसमाथि आक्रमण गरेका थिए । तालिबान प्रवक्ता जबिउल्ला मुजाहिदले उक्त घटनाको जिम्मेवारी लिइसकेका छन् ।
अफगानिस्तानमा १० महिना काम गरेका र हाल नेपाल फर्कने पर्खाइमा रहेका गोविन्द कँडेलले अफगानिस्तानमा बम विस्फोटन हुनु सामान्य भएपनि नेपालीलाई नै लक्षित गरेर आक्रमण गरिएको यो नै सम्भवत: पहिलो भएको बताए ।
उनको अनुसार अफगानिस्तानमा धेरै नेपालीहरु निजी सुरक्षा गार्डको रुपमा कार्यरत छन् । ‘नेपालीहरु सुरक्षित घेरामा नै रहेर काम गर्ने भए पनि बस्ने स्थान र काम गर्ने स्थानमा आउने–जाने गर्दा बाटोमा भने असुरक्षा नै हुन्छ,’ उनले भने, ‘तर यसअघि नेपालीहरु बाहिर निस्कदा वा कतै जाँदा आक्रमणमा परेका थिएनन् ।’
सरकारले अफगानिस्तानको ‘ग्रीन जोन’मा काम गर्न जान मात्रै स्विकृती दिने गरेको छ । अफगानिस्तानमा काम गर्न जाने स्विकृती नपाएका कामदारहरुले भने भारत वा अन्य तेस्रो मुलुक भएर त्यहाँ पुगेर काम गरिरहेका छन् । राम्रो कमाई हुने हुनाले र क्याम्प भित्र काम गर्दा सुुरक्षाको खतरा नहुने भन्दै नेपाली त्यसतर्फ जाने गरेका छन् ।

No comments